[ad_1]
पुरातात्विक महत्वको देउरवास्थल संरक्षणको पर्खाइमा छ । त्यहाँका प्राचीन संरचना र वस्तु मासिँदै हराउँदै गएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीको नजिकै रहेको त्यो ठाउँ चौपाया चरनस्थलका रूपमा परिणत भइरहँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
पुरानो समृद्ध नगर जस्तो देखिने आयातकार क्षेत्रभित्र प्राचीनकालमा प्रयोग हुने पनपथवा इँटाबाट बनेको पुरातात्विक महत्वको संरचना जमनिमुनि लुकेको छ । किसानले खेत जोत्दा वा खन्दा जमिनमुनि लुकेर रहेका संरचना देखिनुका साथै केही इनार र माटाका भाँडाकुँडासमेत एक–एक गर्दै हराइरहँदा सरोकारवाला मौन छन् । बुद्धजन्मस्थल लुम्बिनीको दक्षिणी–पूर्वी क्षेत्रमा रहेको सम्मरीमाइ गाउँपालिका–४ स्थित सिद्धनाथ–सुदेसर, मर्चवारी गाउँपालिका–२ स्थित मकुनगढ–सुमेरगढ र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा–निपनिया–बन्जरहीलगायतका स्थानमा रहेका पुरातात्विक महत्वका प्राचीन संरचना पुरातात्विक स्थलका रूपमा चिनिन्छन् ।
नाम नबताउने स्थानीय करिब ८५ वर्षीय एक वृद्धले भने, “मेरो बाजेले आफ्नो बाजेको हवाला दिँदै भन्नुहुन्थ्यो, त्यहाँ प्राचीनकालमा एक समृद्ध नगर थियो, जुनपछि खण्डहर भई ढलेर माटोमुनि पुरिँदै हराउँदै गएको हो ।” बुद्धकालीन चैत्यको जस्तो देखिने त्यो अग्लो ढिस्को त्यहाँको नगरदेवीको स्थान हो, त्यहाँ दैवी शक्ति रहेको उनले बताए । त्यति मात्र होइन, गाउँका एक व्यक्तिले ढिस्को माटो खन्न खोजेपछि उहाँको छोराले मानसिक सन्तुलन गुमाएको र माटो खन्ने स्काभेटर बिग्रिएको स्थानीयवासीको भनाइ छ । केही वर्ष पहिलासम्म मध्यरातको सुनसानमा त्यो ठाउँबाट छुन्छन् र खन्खन्को सुरिलो आवाज सुमेरगढ गाउँसम्म सुनिने गरेको स्थानीय जगन्नाथ यादवले बताए ।
प्राकृतिक प्रकोप हुने डरले बुद्धकालीन चैत्यको जस्तो देखिने त्यो अग्लो स्थानको करिब १० कठ्ठा जग्गा मात्र अतिक्रमण हुन बाँकी छ । नगरको अवशेष र संरचना भएको भनिएको अन्य भाग भने स्थानीय जमिनदारले सर्वेनापीमा कब्जाइसकेको पनि यादवले सुनाए । बाहिर देखिने इँटा र अन्य सामग्री स्थानीयवासीका घर–घरमा प्रयोग भइरहेको उनको भनाइ छ । बुद्धकालीन चैत्यको जस्तो देखिने अग्लो ढिस्को पनि खनेर खेतीका लागि अतिक्रमण गर्न खोज्दा जमिनमुनिबाट मौरी, कालो बारुलो, बिच्छी र ठूल्ठूला विषधारी सर्प देखापरेको सुनाउँदै मर्चवारी गाउँपालिका–२ सुमेरगढका ५५ वर्षीय रामसुमेर ठाकुरले भने, “त्यसपछि त्यो ठाउँ देउरवाका नगरदेवताको स्थान भएको भन्दै पूजा गर्न थालिएको छ ।”
ढिस्कोभित्र जल निकासका लागि काठले बनाइएको नालीजस्तो वस्तु रहेको स्थानीयवासीको भनाइ छ । केही वर्ष पहिला त्यस ठाउँमा सिमेन्टले बनाइएका बाघ र हात्तीको मूर्ति स्थापना गर्दा ती वस्तु देखिएको सीताराम केवटले बताए । नजिकै देखापरेको इनार सफा गर्दा प्राचीनकालमा प्रयोग भएका माटाका भाँडावर्तन, पानी पिउने टुइयाँजस्ता सामग्री फेलापरेको उनले बताए । इतिहासमा त्यहाँ समृद्धनगर रहेको उनको अनुमान छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारी गाउँपालिका–२ स्थित देउरवालाई उत्तरबाट दक्षिण–पूर्व हुँदै बगेको हगनीनाला दण्डपाणी ऋषिका नामले नामाङ्कित दण्डानदीमा मिसिएर पूर्व र दक्षिण किनारालाई घेरेको छ । पश्चिम किनाराबाट घोघीनाला बग्दै त्यही दण्डानदीमा गई मिसिएको छ । बीचमा सेमरागाउँतर्फबाट रहेको एकमात्र स्थल निकास बाटो छ । यसले शक्तिशाली नगरको जलदुर्गाको सङ्केत गर्दछ ।
विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट पर्यटक ओइरिइरहँदा बुद्धकालसँग सम्बन्धित रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा छरिएर रहेका प्राचीन सभ्यताका पुरातात्विक महत्वका संरचनाको संरक्षणप्रति कसैको चासो नदेखिएको स्थानीय समाजसेवी राजु जयसवालको गुनासो छ । उनले भने, “देउरवा राष्ट्रको सम्पत्ति हो, यसको संरक्षण, विकास र प्रचारप्रसार हुनसके यहाँको समृद्धि सुनिश्चित छ ।” पुरातात्विक महत्वको त्यो स्थान देउरवाबाबाको नामले पुजित छ तर त्यसतर्फ स्थानीय सरकारको पनि ध्यान पुग्न सकेको छैन । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ४ का सभापति मुकेश यादवले आफनो स्थल आफैँ संरक्षण तथा प्रचारप्रसार गरी पर्यटक ल्याउने नीतिअनुरूप अघि बढ्नुपर्नेमा मर्चवारी गाउँपालिकामा पर्ने देउरवाबाबा स्थान स्थानीय तहबाटै उपेक्षित रहेको बताए ।
रुपन्देही, परासी र कपिलवस्तुमा बुद्धसँग सम्बन्धित दुई सय ३५ भन्दा बढी पुरातात्विकस्थल रहेका अध्ययनबाट पत्ता लागेको छ । “देउरवा लगायतका ठाउँमा देखापरेका संरचना, भू–बनोट, मिथक र अवशेष सामग्री अध्ययन गर्दा त्यो ठाउँ प्राचीन हस्तिनापुरको सभ्यतासँग मेल खाने आभास हुन्छ”, बौद्ध धर्मसम्बन्धी स्थानीय शोधकर्ता भोला गुप्ताले भने, “परासीको रामग्राम र कपिलवस्तुको गोटिहवाजस्तै देखिने ढिस्को आकारको संरचना चैत्यको पनि हुनसक्छ, देउरवा स्थानको उत्खनन, पहिचान र विकासका लागि स्थानीय सरकारसँग पर्याप्त स्रोत–साधन छैन ।”
यसको संरक्षण र विकासप्रति पुरातत्व विभाग तथा सङ्घ र प्रदेश सरकारसमेतले चासो नदेखाएकाले यहाँको विकास हुन नसकेको मर्चवारी गाउँपालिका पूर्वअध्यक्ष केशवनन्द बनियाले बताए । यसको संरचना प्राचीनकालमा समृद्ध नगरको जस्तो देखिने उनको भनाइ छ । जापानको ‘फन्ट इन ट्रस्ट’को आर्थिक सहयोगमा युनेस्को, बेलायतको बुरहाम विश्वविद्यालय, जापानको टोकियो विश्वविद्यालय, लुम्बिनी विकास कोष र पुरातत्व विभागका पुरातत्वविद्को संयुक्त टोलीले करिब पाँच वर्ष पहिले त्यस क्षेत्रको अध्ययन गरेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए ।
अध्ययनमा आफू पनि सँगै रहेको उल्लेख गर्दै उनले भने, “लुम्बिनी विकास कोषले लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तुका सात गरी बौद्ध धर्मसित सम्बन्धित पहिचान भएका १० वटा साइट मात्र हेर्न पाउँछ । त्यसबाहेक कोषका पुरातत्व अधिकृतका हैसियतले अन्यलाई हेर्न मिल्दैन । ठाउँ महत्वपूर्ण छ, पुरातत्व विभागले ध्यान दिनैपर्छ ।”
रूपन्देहीको सुमेरगढ, सुदेसर, अमहवा (निपनिया) र बन्जरहीको नाम पुरातात्विक अन्वेषणसम्बन्धी किताबमा देखेको भन्दै लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले ओझेलमा परेका पुरातात्विक महत्वका यी संरचनाको संरक्षण र विकासका लागि कोषले विभागसँग पहल गरेको बताए । “हामी पनि चाँडै नै त्यो क्षेत्रको भ्रमण गर्दैछौँ”, उनले भने । उपाध्यक्ष त्रिपाठीले पुरातात्विक महत्वका सबै क्षेत्रको संरक्षण, सरसफाइ र व्यवस्थापनका लागि काम गर्ने बताए । स्थानीयवासीले समेत आफ्नो सम्पदा, धरोहर संरक्षण गर्न जरुरी रहेको उनको भनाइ छ तर नजिकै लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ अमहवामा नजिक रहेको भारत हस्तिनापुरको समकालीन मानिने पुरातात्विक महत्वको प्राचीन संरचना दानव नदीको भेलले बगाउँदै नष्ट गरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
पुरातात्विक सम्पदा अलिखित ऐतिहासिक दस्तावेज भएकाले तिनको संरक्षण गर्नु आवश्यक छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले यस्ता सम्पदाविरुद्धको सजायसमेतको व्यवस्था गरेको छ । प्राचीन संरचना नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, कुरूप पारेमा, चोरी गरेमा, अनधिकृत काममा लगाएमा वा अन्य कुनै किसिमको नोक्सान पु¥याएमा त्यसको बिगोबमोजिमको रकम असुलउपर गरी रु २५ हजारदेखि एक लाख सम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेसक्ने कानूनी प्रावधान छ ।
लुम्बिनीको काखैमा रहेको पुरातात्विक महत्वको देउरवाबाबा पुग्न राम्रो बाटो, बस्ने वातावरण तथा अन्य विविध समस्या छ । फोहोर, खुला दिसापिसाबका साथै घरपालुवा चौपायालाई छाडा छाडिँदा पुरातात्विक महत्वको स्थल चरणस्थलमा परिणत हुँदै कुरूप बन्दै गएको छ । त्यहाँको संरक्षण र विकासका लागि पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय सरकार समेतले उत्तिकै भूमिका खेल्नुपर्छ ।
[ad_2]
Source link