काठमाडौं चैत्र 2- आईसिसि विश्वकप क्रिकेट लिग 2 मा नेपालले किर्तीमानी जित हात पारेकाे छ। डक वर्थ लुइसको प्रणाली अनुसार नेपालले जित हात पारेको हो। खेलको अन्त्य भएको घोषणा भएसँगे युएईका खेलाडीहरूले अम्पायरसँग असन्तुष्टि जाहेर गरेको देखिएको थियो।
त्यसपछि युएईका कप्तान र प्रशिक्षकले अम्पायरहरूको टोलीसँग कुराकानी गरेका थिए। अर्को तर्फ नेपाली खेलाडी र समर्थकहरूले हर्ष उल्लास व्यक्त गरिरहेका थिए।
यो जितसँगै आईसीसी विश्वकप लीग-2 को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।
बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।
यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध 286 रन पछ्याएको थियो।
जितसँगै नेपालको अङ्क 40 पुगेको छ। 39 अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर 6 विकेटको क्षतिमा 310 रन जोडेको थियो।
विशाल रन पछ्याउन आएको नेपालले खराब सुरुआत गर्यो। इनिङको तेस्रो बलमा नै ओपनर आशिफ शेख खाता नखोली आउट हुन पुगे।
दोस्रो बलको सामना गर्ने क्रममा अगाडि बढेर खेल्न खोज्दा उनी स्टम्पिङ हुन पुगेका थिए। उनको स्थानमा आएका कुशल मल्ल पनि दोस्रो ओभरको तेस्रो बलमा आउट भए।
पाँच बलको सामना गरेका उनले एक चौकाको मद्दतमा 5 रन मात्र बनाउन सके। त्यसपछि गहन जिम्मेवारीका साथ कप्तान रोहित पौडेल इनिङ सम्हाल्न आएका थिए।
तर उनी पनि लामो समय टिक्न सकेनन्। सातौँ ओभरमा उनी 16 रन बनाएर पवेलियन फर्किए। यति बेला नेपालले 37 रनमा तीन खेलाडी गुमाइसकेको थियो।
त्यसपछि भीम सार्कीले महत्त्वपूर्ण रूपमा 67 रन जोडेर नेपाली पारी उकासेका थिए। जुनेद सिद्दीकीको बलमा एलबीडब्लू आउट हुनुअगाडि उनले नौ चौका प्रहार गरे।
सार्कीले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि 83 रनको साझेदारी गरे। धैर्यपूर्ण रूपमा क्रिजमा टिकेका आरिफले अर्ध शतक पूरा गरे।
वर्षाका कारण डक वर्थ लुइसको लक्ष्य पूरा गर्ने क्रममा ठूलो शट् खेल्दा उनी 52 रनमा आउट भएका थिए। याे जित सँगै नेपाल 3 महिना पछि जिम्वावेमा हुन क्पालिफायर राउन्डमा सिधै प्रवेश पाएकाे छ।क्वालिफायरबाट छनाैट हुने टिम अर्को बर्ष भारतमा हुने आईसिसि वर्डकप खेल्न पाउने छ।वर्ल्डकपमा जम्मा 10 देशले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन।